अपराजीत मनाङको संकटामाथि सानदार जित

काठमाडौं,माघ,१५-साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

फोटो साभार : नेपाल फुटबल एसोसिएशनको फेशबुक पेजबाट

मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए  ।

त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३-० को सहज जित दिलाए ।

खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।जितसँगै लिगमा मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ लिगमा अपराजित रहने एक्लो टिम हो ।संकटालाई हराएसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ ।संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।साभार- खेलपाटीबाट