काठमाडौं,साउन,२६-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
थपिएकामा काठमाडौं उपत्यकाका ४४ रहेका छन् ।तीमध्ये काठमाडौंका ३६ तथा ललितपुर र भक्तपुरका ४-४ जना हुन् ।
पछिल्लो २४ घण्टामा एक सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।अहिले १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा र ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् ।