गोंगबु हत्याकाण्ड: चितवनबाट एक महिला पक्राउ

फाईल तस्विर !!

काठमाडौं,साउन,२६-गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।घटनामा मारिने दाङका कृष्णबहादुर बोहोरा भएको भने सोमबार दिउँसो खुलेको थियो ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो ।सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो ।