शुक्रबारसम्म तीन प्रदेशका उम्मेदवारको टुंगो लगाउने कांग्रेसको तयारी

काठमान्डौ,जेठ,२५-
नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश १, ५ र ७ को शुक्रबारसम्म टुङ्गो लगाउने निष्कर्ष निकालेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, सङ्खुवासभालगायतका अधिकांश जिल्लाको टुङ्गो लगाएको र भोलि बस्ने बैठकले सबै उम्मेदवार टुङ्ग्याउने बताए। २ नं.प्रदेशको भने केही समय लाग्ने उनले जानकारी दिए।

कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ। बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता डा.रामशरण महत, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखकलगायतको उपस्थिति थियो।

थाहाखबरबाट