माओवादीकै कारण मुलुकमा परिवर्तनको महसुस भएको हो प्रचण्ड

काठमाडौं,जेठ,२७
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अवसरवादी भएको भन्दै सम्पूर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन्। शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरे। माओवादी नेतृत्वले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहलकदमी लिएको भन्दै उनले त्यसले जनतामा आशा र विश्वासको संचार गराएको बताए। आफूले दोश्रो पटक सरकारको नेतृत्व गरेर बाहिरिँदा केही मान्यता स्थापित गर्न सकेको भन्दै उनले त्यसले नै मुलुकलाई सफल राष्ट्र बनाउने दाबी समेत गरे। अध्यक्ष प्रचण्डले पार्टीबाट भिन्न भएका विप्लव नेतृत्वको समूह र मोहज वैद्य नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आह्वान गरे।