विश्वका विभिन्न कम्पनीमा एकसाथ साइबर आक्रमण

नर्वे, असार,१४

विश्वभर विभिन्न कम्पनीमा साइबर आक्रमण भएको छ । युक्रेनबाट शुरु भएको एउटा ठूलो स्तरको कम्प्युटर प्रणालीमा भएको आक्रमणको प्रभाव नर्वे, भारतलगायतका देशहरुमा फैलिएको छ ।

युक्रेनमा मन्त्रालय, उर्जा कम्पनी र बैंकहरुले कम्प्युटर प्रणालीमा समस्या बेहोरिरहेका छन् । केन्द्रीय बैंक, सरकारी उर्जा वितरक र विमान उत्पादकक साथै दुई हुलाक सेवा पनि प्रभावित भएका छन् ।

कम्प्युटर प्रणालीमा आक्रमण गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिने र नियन्त्रणमुक्त गरिदिन ह्याकरहरुले पैसा मागेका छन् । साइबर आक्रमणका कारण युक्रेनको किएभस्थित विमानस्थल र मेट्रो प्रणालीमा असर परेको छ ।

डेनमार्कको मालवाहक जहाज कम्पनीले आफ्नो कन्टेनर टर्मीनलहरु साइबर आक्रमणको निशानामा परेको जनाएको छ । त्यसैगरी रुसी तेल कम्पनी रोस्नेफ्ट र संसारको सबैभन्दा ठूलो विज्ञापन एजेन्सी डब्ल्यूपीपीले पनि आफ्नो कम्प्युटर प्रणालीमा आक्रमण भएको बताएका छन् ।

अमेरिकाको औषधि उत्पादक कम्पनी मर्क पनि आक्रमणको निशानामा परेको छ ।भाइरसको स्रोत पत्ता लाग्न सकेको छैन । इन्टरपोलले परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । (एजेन्सी)