कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ व्यक्ति संक्रमित

जापानमा एक जनाको निधन

काठमाडौं,जेठ,४-कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो ।

बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली रहेको एनआरएनएले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।

११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ ।ईमेजखबरबाट