प्रचण्डद्धारा मिडिया काउन्सिल विधेयकको बचाउ : विप्लवको बन्द वार्ताकै लागि भएको भनाई

काठमाण्डौं,जेष्ठ,१३-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको बचाउ गर्नुभएको छ । १७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गर्नुभएको हो ।

उहाँले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।अध्यक्ष दाहालले पार्टीभित्र सवै नेतालाई व्यवस्थापन गर्न मुस्किल भइरहेको बताउनुभयो । उहाँले गुटगत व्यवहार मौलाएकाले व्यवस्थापनमा कठिनाई भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता खतरामा नभई समृद्धिको अवस्थामा पुर्‍याउने दाबी गर्नुभयो ।उहाँले सञ्चारमाध्यममाथि नियन्त्रण गर्न नभई नियमनका लागि सरकारले विधेयक ल्याएको जिकिर गर्नुभयो ।

यसैबिच : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमप्रति सत्तारुढ दल नेकपाको नीति गलत बन्दै गएको आरोप लगाउनुभयो । उहाँले पत्रकारका संगठनहरु पार्टीका भ्रातृ संगठन नभएको भन्दै आफूहरु स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको जिकिर गर्नुभयो । 

यस्तै : आजै मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उदघाटनका लागि विराटनगर पुग्नु भएका अध्यक्ष प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विस्फोट गर्दैमा विप्लव समूहले राजनीतिक उद्देश्य प्राप्त नगर्ने बताउनुभयो । ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन’ उहाँले भन्नुभयो” विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताउनुभयो ।

‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन’ उहाँले भन्नुभयो, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ।’ उहाँले वार्तामा आउने हो भने प्रतिबन्द ठूलो कुरा नभएको बताउनुभयो ।उहाँले सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेको बताउँदै छिट्टै परिणम निस्केपछि थाहा हुने बताउनुभयो ।