मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

शीर्ष नेताहरुसँग आन्तरिक छलफल

काठमाडौं,असार, १८-

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै देउवा सरकार विस्तारको तयारीमा जुट्नु भएको हो ।शनिबार पनि उहाँले आफू निकट शीर्ष नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार, आफ्नो सचिवालय सदस्यहरु नियुक्त गर्ने, संविधान संशोधन लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतले बतायो ।

यसअघि देउवाले सत्तासाक्षेधार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगपनि भेटवार्ता गर्नुभएको थियो । देउवा र प्रचण्डवीचपनि सरकार विस्तारको बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा नियुक्ती भएको झण्डै एक महिना वित्न लागिसक्यो तर उनले अहिलेसम्मपनि आफ्नो सचिवालयका सदस्यहरु समेत नियुक्त गर्न सकेका छैनन् । देउवा निकट उच्च स्रोतका अनुसार उहँले अब यही असार २३ गतेभित्रै सबै नियुक्तीहरु गर्ने तयारी गर्नु भएको छ ।

मन्त्रिपरिषद विस्तारको लागि देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिसकेपनि अन्य साझेदार दल खासगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँगपनि कुराकानी गर्ने तयारी गर्नुभएको छ । गच्छदार अहिले चुनावका कारण गृहनगर विराटनगरमा हुनुहुन्छ । उहाँ आजमात्रै काठमाडौं आउने कार्यक्रम रहेको छ ।