भानु जयन्तीको अबसरमा रचना वाचन तथा नगर प्रतीनीधीलाई सम्मान

अराज सिहं बेल्बासे ,

चन्द्रौटा,असार,२९-
२०४औं भानुजयन्तीको अवसरमा शिवगढी साहित्य संगम कपिलवस्तुले रचना बाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि छन्दबादी समाज नेपाल प्रदेश ५ का अध्यक्ष ऋषिकेशव भारद्वाज र नेपाल आदर्श बहुमुखी क्याम्पस प्रमुख नवराज पाण्डेयले शिवराज नगरपालिका प्रमुख, उपप्रमुख र वडा नं. १ का वडाध्यक्षलाई अबिर, दोसल्ला र कदरपत्रले सम्मान गर्नुभएको थियो ।

नेपाल आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष रहनुभएका नेत्रराज अधिकारी असार १४ गते सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट शिवराज नगरपालिकाको गरिमामय नगरप्रमुख जस्तो पदमा निर्वाचित भएकोमा क्याम्पसकै गौरबको विषय बनेको वक्ता क्याम्पस प्रमुख पाण्डेयले बताउनुभयो ।

यसैगरी क्याम्पसकै स्नातक तह तेस्रो वर्ष अध्ययनरत छात्रा शिवकुमारी चौधरी शिवराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुँदा क्याम्पसकै शिर उचो भएको क्याम्पस प्रमुख पाण्डेयले खुशी व्यक्त गर्नुभयो ।

त्यति मात्र होइन क्याम्पस व्यवस्थापन समिति सदस्य तथा क्याम्पस भवन निर्माण समिति संयोजक जगतबहादुर जिसी वडा नम्बर १ को वडाध्यक्षमा विजयी हुँदा क्याम्पसकै सान बढेको पाण्डेयको भनाई थियो ।

कार्यक्रममा शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन पौडेलले नव निर्वाचित जनप्रतिनिधिहरुको सफलताको शुभकामना दिंदै हरेक क्षेत्रलाई समाज दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले साहित्य संगमको ऐतिहासिक पृष्ठभूमिका बारेमा समेत चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार छविलाल कोपिला, समाजसेवी भवनराज पौडेल, मानव अधिकारकर्मी विष्णुप्रसाद खतिवडा, क्याम्पस सहायक प्रमुख श्रीधर आचार्य, साहित्यकार रामप्रकाश चौधरी लगायतले रचना बाचन गर्दै नवनिर्वाचित नगर प्रतिनिधिहरुको कार्यसफलताको शुभकामना दिएका थिए ।