आज सोमबार भगवान शिवको पूजा आराधनागरी मनाइँदै,

काठमाडौं,साउन,२-

हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी आज साउन महिनाको पहिलो सोमबार मनाउँदैछन् । विशेषगरी महिलाहरुले साउन महिनामा हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरापोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । यस पटकको साउन महिनामा पााच वटा सोमवार परेको छ । पााचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ ।

यसैबिच , साउन महिनाका सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन सबै तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको हो ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ । यस वर्षको साउने सोमबारमा पशुपतिमा तीन स्थानबाट लाममा बसी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका निर्देशक एवम् पशुपति मन्दिर र गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिनुभयो ।

यसअघि व्रत नबसेकाले पाँच सोमबार परेको साउनबाटै सुरु गर्ने मान्यता रहेकाले पनि बढी भक्तजन आउने अनुमान गरिएको हो । साउनको सोमबार बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा शुद्ध जल चढाउन चाहनेका लागि भुवनेश्वरीबाट प्रवेश गरी लाम नबसीकन मन्दिर छिर्न दिइने भएको छ ।

विशेष पूजा गर्नेका लागि आर्यघाटबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गरेर पूजा गरी सोही मार्गबाट फर्कने व्यवस्था गरिएको छ ।साभार नेपालवाणीबाट