भोलीसम्ममा सरकार विस्तार गर्ने काँग्रेस माओवादिको तयारी

काठमाडौं, साउन ,३-

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र सरकार विस्तार गर्ने तयारीमा जुटेका छन । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच भोलीसम्ममा सरकार विस्तार गर्ने सहमति भएको छ ।

आज कार्यदलको बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्ने दलहरुको तयारी रहेको छ । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउने कार्यदलको तयारी रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले जानकारी दिनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग हिजो बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा आजनै मिलाएर भोलीसम्ममा सरकार विस्तार गर्नेमा सहमति भएको नेता लेखकले वताउनु भएको छ ।

राप्रपा र संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराउने तयारी रहेको भएपनि फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ ।

यता राप्रपा आन्तरीक विवादका कारण तत्काल सरकारमा सहभागी हुने स्थिति नभएपछि राप्रपालाई दिने मन्त्रालय प्रधानमन्त्रीसंगै राखेर सरकार विस्तार गरिने भएको छ । लोकतान्त्रिक फोरम यसअघि नै सरकारमा सहभागी भइसकेको छ ।