डेढ महिना पछि मन्त्रीमण्डल विस्तार

२७ सदस्यीय देउवा सरकारमा तीनजना मात्र बने महिला मन्त्री

काठमाण्डाैं,साउन,११-

प्रधानमन्त्रीमा निर्वाचित भएकाे डेढ महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अाज १९ जना नयाँ मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नु भएकाे छ ।यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । २७ सदस्यीय देउवा सरकारमा तीनवटा मन्त्रालयमा मात्र महिलाहरूले ठाउँ पाएका छन् ।

अाज विस्तार भएकाे मन्त्रीमण्डलमा कांग्रेसबाट १० जना, माअाेवादी केन्द्रबाट ६ जना, फाेरम लाेकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री बन्नु भएको हो ।

आज थप गरिएका मन्त्रीहरुमा कांग्रेसबाट भीमसेनदास प्रधान–रक्षा, वीरबहादुर बलायर–भौतिक पूर्वाधार, यज्ञबहादुर थापा–कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत– सूचना तथा सन्चार, सन्जय गौतम–सिँचाइ, राजन केसी–युवा तथा खेलकुद, मीनबहादुर विश्वकर्मा–वाणिज्य, महेन्द्र यादव–खानेपानी तथा सरसफाइ र अम्बिका बस्नेत–सहकारी तथा गरिबीमन्त्री हुनुभएको छ   ।

यसैगरी : माओवादी केन्द्रबाट शिवकुमार मण्डल–आपूर्ति, गिरिराजमणि पोखरेल–स्वास्थ्य, महेन्द्रबहादुर शाही–ऊर्जा, सन्तकुमार थारु– पशुपंक्षी, आशा खनाल–महिला तथा बालबालिका र टेकबहादुर बस्नेत–सामान्य प्रशासनमन्त्री रहनु भएको छ ।

त्यसैगरी : नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र गोपाल दहित–भूमिसुधारमन्त्री बन्नु भएको छ भने नेकपा संयुक्तकी मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्री बन्नु भएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथग्रहण समेत गराउनु भएको थियो ।