तेस्रो चुनावको तयारीमा माओवादीः शीर्ष नेता परिचालित

काठमाडौं,साउन, १६-

नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउन आजदेखि नै पार्टीका शीर्ष नेता परिचालित गर्ने भएको छ ।आजदेखि नै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रदेश नं २ को निर्वाचनलाइ मध्यनजर गरेर नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायत नेता २ नं प्रदेशमा परिचालित हुने प्रवक्ता भुसालले बताउनुभयो ।

अध्यक्ष दाहालले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ ।