भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

देवी ज्ञवाली २०३ मतले पराजीत

भरतपुर,साउन,२१-

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन ।निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन ।

भरतपुर महानगरपालिकाको पहिलो महिला मेयर रेणु दाहाल

विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् ।२० नम्बर वडाको मत गणना सुरु हुँदासम्म २२१ मतले पछि रहेकी रेणुले अन्ततः यही वडाबाट आफ्नो जित सुनिश्चित गरेकी थिइन् ।

मतगणना सुरु भएदेखि नै अग्रता लिएका एमाले उम्मेदवार देवी ज्ञवाली पुनः मतदान भएको १९ नम्बर वडा र २० नम्बर वडामा कमजोर देखिएपछि रेणुको जित सम्भव भएको हो ।उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वा्चित भएकी छन् ।

पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरमा गत वैशाख ३१ गते मतदान सम्पन्न भएको थियो ।भरतपुरमा २९ ओटा वडा रहेकोमा वडा नम्बर–१९ मा मतगणनाकाक्रममा मतपत्र च्यातेपछि शुक्रबार पुनः मतदान भएको थियो ।