नेपालले अब जापानमा सीधा हवाई सेवा सुरु गर्नसक्ने

काठमाडौं,पुस,२५-

नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्र आदान–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार राजधानीमा हवाई सेवा सम्झौता संशोधनका लागि ‘एक्सचेन्ज अफ नोट’ र द्विपक्षीय परामर्श बैठक गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।

यो सम्झौतासँगै नेपालले जापानमा सीधा हवाई सेवा सुरु गर्नसक्ने छ । बैठकपछि दुवै देशका परराष्ट्रमन्त्रीले पत्रकार सम्मेलन गरी बैठकमा भएका सहमतिका विषयमा जानकारी गराएका थिए ।जापानी विदेशमन्त्री कोनोले अब नेपाल वायु सेवा निगमले छिटो जापानमा हवाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन आवधिकरुपमा यस्ता बैठक गर्ने सहमति भएको पनि बताउनुभयो ।परराष्ट्रमन्त्री ज्ञवालीले जापानको नयाँ अध्यागमन नीतिमा नेपाललाई स्रोत मुलुकको सूचीमा राखेको भन्दै धन्यवाद दिएको बताउनुभयो ।

रोजगारीका लागि नेपालीलाई जापान लैजाने विषयमा छिट्टै दुई पक्षबीच सम्झौता गर्ने विषयमा पनि सहमति भएको उहाँले जानकारी गराउनुभयो । यस्तै, बैठकमा पूर्वाधार निर्माण, कनेक्टिभिटी एवं ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगकाबारेमा पनि छलफल भएको थियो ।

नेपालका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी तथा आगामी मार्चमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी जापानी लगानीकर्ता एवं उद्यमीहरुको सहभागिताका विषयमा पनि छलफल भएको जनाइएको छ । ईमेज खबरबाट साभार