रुकुमको आठविसकोटमा अज्ञात रोगबाट २ सय विरामी

नरेश खड्का /

रुकुम,भदौ,१- 
रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् ।

नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण खदीका सर्वसाधारण बिरामी परेको बताउनुभयो । भिन्नभिन्न लक्षणका बिरामीहरु दैनिक रुपमा बढ्दै गएको प्रमुख केसीले बताउनुभयो । साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा स्वास्थ्य चौकी पनि छैन ।

स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको नगर प्रमुख केसीले बताउनुभयो । हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहित औषधि पठाइएको छ । एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेब १ जना भरिया औषधिसहित खदीतर्फ गएको नगर प्रमुख केसीले बताउनुभयो ।

हेल्थ असिस्टेन्ट मनिराज शाह र अर्को १ जना अहेब बुधबार जिल्ला अस्पतालबाट औषधिसहित त्यसतर्फ गएको बताईएको छ । जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महत्तोले एक्कासी धेरैजनामा ज्वरो आएकोले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताउनुभयो ।