क्षेत्र निर्धारण आयोगले सरकारलाई आज प्रतिवेदन बुझाउदै

काठमाडौं,भदौं,१२-

निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । क्षेत्र निर्धारणका आवश्यक सबै काम सकिएकाले आजसरकारलाई प्रतिवेदन बुझाउन लागिएको आयोगका सदस्य सचिव वेगेन्द्रराज शर्माले जानकारी दिनुभयो।

सरकारले २९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउन साउन ५ मा सर्वाेच्च अदालतका पूर्वनयायाधीश कमलनारायण दासको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको थियो । आयोगले यसअघि धेरै जनघनत्व रहेका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा छलफल तथा अन्तरक्रिया गरी सुझाव लिएको थियो ।

आयोगका सदस्य सचिव शर्माका अनुसार निर्वाचन आयोगले वडा नटुक्र्याउन भनेकाले सोहि अनुसार क्षेत्र निर्धारण गरिएको छ । १ सय ६५ सिटको प्रतिनिधिसभा र ३ सय ३० सिटको प्रदेशसभाका लागि क्षेत्र तय गरेको सदस्य सचिव शर्माले बताउनुभयो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते गर्ने घोषणा गरेपनि निर्वाचन आयोगले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन नहुँदा तयारी गर्न अपठ्यारो परेको भन्दै समयमै प्रतिवेदन उपलब्ध गराउन दबाब दिइरहेको थियो ।नेपालवाणीवाट