जोर्नी खिइने समस्या

इन्द्र कार्की
महेन्द्रनगर,भाद्र,१४  
उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ।
जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या जोसुकैलाई हुनसक्छ । जोर्नी मात्र खिइने समस्यालाई आर्थाइटिस भनिन्छ । तर, उमेर पुगेपछि देखिने जोर्नी खिइने समस्यालाई भने अस्टिओ आर्थाइटिस भनिन्छ।
प्रायः अस्टिओ आर्थाइटिस महिलामा ५० र ६० र पुरुषमा ६० र ७० वर्ष पुगेपछि देखिन्छ । शारीरिक बनावटका कारण पुरुषको तुलनामा महिलामा यो समस्या केही वर्ष अगाडि नै देखिन्छ । महिलाको जाँघ÷तिघ्रामा बोसोको मात्रा बढी हुने भएकाले घुँडाको जोर्नी खिइने समस्या बढी देखिन्छ।
यो समस्याबाट बँच्न महिनावारी बन्द भएका महिलाले क्याल्सियमयुक्त खाना बढी खाने र नियमित व्यायाम गरेर तौल घटाउनुपर्छ । शारीरिक व्यायाम गर्दा दौडिने होइन, समथर मैदानमा छिटोछिटो गरी हिँड्नुपर्छ।
लक्षण
– जोर्नी दुख्ने
– हिँडडुल गर्न नसक्ने
– दैनिक क्रियाकलाप गर्न नसक्ने
– निहुरिन नसक्ने
– घुँडा सुन्निने
उपचार
यो समस्यामा जोर्नी कति खिइएको छ, सोही डिग्रीका आधारमा उपचार गरिन्छ । यदि जोर्नी भर्खरै खिइन लागेको छ भने व्यायाम र फिजियोथेरापी गरेर समस्याबाट छुटकारा पाउन सकिन्छ । मध्यम अवस्थामा छ भने व्यायाम र फिजियोथेरापीसँगै खिइएको जोर्नीमा हाइलोरोनिक एसिड भन्ने चिल्लो पदार्थ हाल्नुपर्ने हुन्छ।
तर, आजभोलि हाइलोरानिक एसिड नहाली स्टेरोइड हाल्ने गरेको पाइन्छ । स्टेरोइड नहाल्ने सल्लाह नै दिने गरिन्छ । किनकि स्टेरोइडले जोर्नीभित्रका कुरकुरे हाड नै खाएर झन् कमजोर बनाउँछ । कडा खालको खिइएको छ भने फिजियोथेरापीसहित सानो दुरबिनको सहयोगले जोर्नी सफा गर्नुपर्छ । यो विधिलाई ‘आर्थसकोपिक लवाज’ भनिन्छ । यो विधिले ६० देखि ७० प्रतिशत सम्म समस्या निराकरण हुन्छ । यो विधिले पनि निको नभए जोर्नीको प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जोर्नी प्रत्यारोपण भनेको खिइएको जोर्नी निकालेर स्टिलको जोर्नी राख्नु हो । प्रत्यारोपण शरीरको जुनसुकै जोर्नीको पनि गर्न सकिन्छ । घुँडाको जोर्नी प्रत्यारोपण गर्दा दुवै जोर्नीको एकै पटक प्रत्यारोपण गर्नु राम्रो मानिन्छ । प्रत्यारोपण गर्दा ८ देखि १० दिन अस्पतालमा भर्ना भएर बस्नुपर्ने हुन्छ । यो समय प्रत्यारोपण अगाडि बिरामी कति हिँड्न सक्छ वा कति व्यायाम गर्न सक्छ भन्ने कुरामा पनि निर्भर गर्भ । व्यायाम गर्न सक्ने बिरामी प्रत्यारोपणको अर्को दिन नै हिँड्न सक्छ ।