नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

काठमाडौं, असोज १-

एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।

हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापा मगरले अविजित १९ रनको योगदान दिए ।

यस, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभरमा अलआउट हुंदै ७६ रनको योगफल बनाएको थियो । हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए ।

नेपालका साहब आलम तथा सन्दीप लामिछानेले समान ३ विकेट लिंदा कप्तान ऐरी र अनिल कुमार शाहले १,१ विकेट लिए ।यो उपाधिसँगै नेपाल एसीसी अन्डर नाइन्टिन एसिया कपका लागि छनोट भएको छ ।