प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा

ढुक्क भएर मतदान गर्न आग्रह

काठमाडौं, असोज १-

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय तह छन् । यो प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका पर्दछन् ।

सबै स्थानीय तहमा गरी १ हजार २ सय वडा छन् । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसहित ६ हजार ६२७ पदका लागि ३६ हजार ९ सय ९३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सोमबार(भोली) हुने निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० जना मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।त्यसका लागि ३ हजार ५ सय ७७ मतदान केन्द्र तोकिएको छ । निर्वाचनको सुरक्षाका लागि ६९ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन आयोगले सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरणको काम जारी राखेको छ ।परिचयपत्र वितरणसँगै मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता परिचयपत्र पाउन नसकेमा नागरिकता, कर्मचारी परिचयपत्र, चालक अनुमतिपत्र, जग्गाधनी पुर्जा या परिचय खुल्ने कागजातका आधारमा पनि मतदान गर्न पाइनेछ । यसअघि भएको दुई चरणको चुनावमा पनि आयोगले यस्तै व्यवस्था गरेको थियो ।

यसैबीच निर्वाचन आयोगले शान्तिपूर्ण र भयरहित रुपमा चुनावमा भाग लिन अपिल गरेको छ ।सुरक्षाका सबै व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अपील गरेका छन् ।