फुल्टेक्रामा चेक जाँचका नाममा रकम असुल्दै प्रहरी,छानबिन गरी कारवाही गर्छु एसपी

नेपालगंज,असोज,१०-

सवारीसाधनको कागजपत्र चेकरजाँच का नाममा बाँकेको नेपालगंज ६ फूल्टेक्रामा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।फुल्टेक्रामा सवारीसाधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २ सय रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन् ।

फुल्टेक्रा देखि नहरपुर्वा चोकको विभिन्न स्थानमा नेपाल प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् । सवारीको कागजपत्र माग्ने क्रममा सवारी चालकहरुले कागजपत्र दिदा समेत नियम विपरीत सवारी चलाएको आरोप लगाउदै पैसा असुल्ने गरेका छन् ।वडा प्रहरी कार्यालय फुल्टेक्राबाट खटेका प्रहरीहरुले अधिकांश सवारी साधनसँग रकम असुल्ने गरेका छन् ।

प्रहरी बिटमा सुरक्षामा लागि खटिने प्रहरीहरुले निजी सवारी साधन भन्दा पनि गिटी, बालुवा बोक्ने ट्रिपर र यात्रुबाहक सवारीसाधनसँग बढी रकम असुल्ने गरेको चालकहरुले जानकारी दिएका छन् ।यता वडा प्रहरी कार्यालयका प्रहरीहरुले उपचारका लागि अस्पताल आउदै गरेका बिरामीहरुलाई रोकी अनआवश्यक दुख दिएको घटना प्रति मानव अधिकारकर्मीहरुले आपत्ति प्रकट गरे पछि वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले बिरामीहरुलाई उपचारका लागि पठाएको थियो ।

यस्तै पछिल्लो समयमा फुल्टेक्रामा चेकजाँचका नाममा यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रहरी बिटमा थुन्ने काम प्रहरीहरुले गरेको सार्वसाधारणहरुले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर तामाङले बिभिन्न पर्वहरुलाई लक्षित बनाइएको सुरक्षा योजनाका नाममा प्रहरीले यात्रुहरुलाई दुख दिएको पाइए कडा कारवाही गर्ने बताउदै फुल्टेक्रामा चेक जाँचका नाममा प्रहरीले जनतालाई दिएको दुखका विषयमा छानबिन गरी दोषी प्रहरी माथि कारवाही गर्ने जिकिर गर्नु भयो ।