प्रचण्डलाई केपी र माधवले राजनीतिक रुपमा त्रिशुलीमा हाल्न खोजेका हुन्ः किराँती

काठमाण्डौं,असोज,१७-

माओवादी केन्द्रका नेता गोपाल किराँती एमालेसंग पार्टी एकता गर्ने प्रस्तावको विपक्षमा उभिएका छन्। सोमबार सम्पन्न पार्टी सचिवालय बैठकमा किराँती र प्रभु शाह पार्टी एकताको विपक्षमा उभिएका थिए। अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रस्ताव राखेपछि बैठकमा किराँती बोलेका थिए। उनले अध्यक्ष प्रचण्डको प्रस्ताव माओवादीलाई एमालेमा विलाउने प्रस्ताव भएकाले आफू एकता प्रकृयामा सामेल नहुने बताए।

‘यो एकताका नाममा माओवादीलाई एमालेमा विलय गराउने प्रस्ताव हो। पहिचानको मुद्धा र माओवाद एमालेले के गर्छ? एमालेको जनताको बहुदलीय जनवाद हामीले के गर्छौँ?’, बैठकमा बोल्दै किराँतीले अध्यक्ष प्रचण्डलाई प्रश्न राखेका थिए। उनले पार्टी एकता प्रकृयामा आफ्नो गम्भीर विरोध र आपत्ति भएको बताउँदै बैठकस्थलबाट बाहिरिएका थिए।

‘ओली र नेपालले प्रचण्डलाई बैचारिक र भौतिक रुपमा त्रिशुलीमा हाल्छन् ।

नेता किराँतीले अब प्रचण्डलाई माधव नेपाल र केपी ओलीले राजनीतिक रुपमा त्रिशुलीमा हाल्ने बताउँछन्। ‘अब प्रचण्डलाई खड्ग ओली र माधवकुमार नेपाल मिलेर त्रिशुलीमा हाल्छन्। राजनीतिक रुपले पनि हाल्छन् र भौतिक रुपले पनि हाल्छन्। यो कुनै लेनिनको समाजवादी क्रान्तिको तयारी होइन। यो घोर दक्षिणपन्थी आत्मसमर्पणवाद हो’, नेपालखबरसंग कुरा गर्दै उनले भने।

अझै पाँच वर्ष माओवादी भएरै निर्वाचन लड्नुपर्ने आफ्नो धारणा रहेको बताउँछन् किराँती। उनले आफु कुनै हालतमा एमालेमा विलय हुन नजाने बताए। ‘एमालेमा विलय हुने हुन्छन्, हामी जे जति हुन्छौं माओवादी केन्द्र चलाउँछौं। वर्गीय, जातीय, क्षेत्रीय, महिला उत्पीडनविरुद्धका आन्दोलनलाई जारी राख्छौं। महान जनयुद्धका अमर सहीदहरुको सपना पुरा गर्ने संकल्प कायम राख्छौं’, किराँतीले भने। नेपाल खबरबाट साभार