एमाले र माओवादी केन्द्रबीच एकताको अभ्यास

संयुक्त पत्रकार सम्मेलनको तयारी

काठमाडौं, असोज १७-

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीका नेताले एक हुने अभ्यास थालेका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले यस्तो अभ्यास थालेका हन् । यसका लागि दुई पार्टीका शीर्ष नेताहरुबीच घनिभूत वार्ता भएको छ ।

दुई पार्टीका शीर्ष नेताको आज विहान ललितपुरमा बसेको बैठकले चुनावी तालमेल र एकता संयोजनका लागि समिति बनाउने सहमति गरेको छ ।आजै साँझ ५ बजे सार्वजनिक कार्यक्रम गरी एकता प्रयासको आवश्यकता र औचित्यसहित रणनीति सार्वजनिक गरिने भएको छ ।

एमाले अध्यक्ष केपी ओली, नेताहरु माधव नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहितका नेताबीच भएको बैठकले समिति बनाउने निर्णय गरेको हो ।

यसअघि, एमालेले स्थायी कमिटी तथा माओवादी सचिवालय बैठक गरी एकता अभ्यासलाई औपचारिकता दिएका थिए ।

खासगरी आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्ट बर्चस्व कायम गर्ने उद्देश्यका साथ दुबै पार्टीले एकता अभियानलाई जोड दिएको देखिएको छ ।

माओवादी केन्द्रले पनि एमालेसँग चुनावी तालमेलदेखि एकतासम्म गर्नका लागि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा वार्ता समिति नै बनाएको थियो ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल र एकतासम्मका लागि दाहालको नेतृत्वमा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको समिति गठन गरिएको थियो ।

एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्टै माओवादीले यस्तो निर्णय लिएको हो ।तालमेलका लागि केही समययता एमाले र माओवादी नेताबीच अनौपचारिक छलफल भइरहेको थियो ।

शुरुमा चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने तयारीमा नेताहरु जुटेको दावी गरिएको छ । दुई कम्युनिष्ट पार्टीको चुनावी तालमेल र एकता प्रयासबाट अर्को ठूलो दल नेपाली कांग्रेसका नेताहरु भने झस्किएका छन् ।

पछिल्लो समय नेताहरुको कार्य र नीतिगत शैलीका कारण जनताबीचमा आफ्नो पकड गुमाउँदै गएको कांग्रेसका लागि दुई कम्युनिष्ट पार्टीबीचको यो गृहकार्य निकै हदसम्म अप्रत्याशित कदम बनेको छ ।

शुरुमा एमालेसँग सत्ता साझेदारीमा रहेको माअ‍ोवादीलाई अलग्याएर गठबन्धन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्री चलाइरहनुभएको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसलाई दोस्रो दलमा झार्दै तेस्रो हैसियतमा कायम माओवादीसँग आगामी चुनावमा तालमेल, सत्तामा साझेदारी र एकतासम्म गर्ने अभ्यासमा एमाले नेताहरु लागेका हुन् ।  ईमेज खबरबाट