कर्णाली पुलबाट हाम फालेका ३ जनामध्ये एक किशोर बेपत्ता

फाईल तस्विर !!

कैलाली,चैत,२९-पुर्व पश्चिम राजमार्गको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल घाइते छन् ।

उनी हाम फालेको केही समयमै फेला परेका थिए । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्का १७ वर्षका वीरेन्द्र सिंह पनि नदीमा हाम फालेको केहीबेरमै फेला परेका थिए । उनी सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनीहरू तीनै जना एकै विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् ।

हिजो ८ जनाको समूह बनाएर चिसापानी घुम्न गएका उनीहरू दिउँसो नदीमा हाम फालेका हुन् ।

उनीहरू पौडी खेल्न वा अरू केही कारणले नदीमा हाम फालेको हो भन्ने खुलेको छैन । प्रहरीले बेपत्ताको खोजी जारी राखेको जनाएको छ ।