देउवाले उठाए ‘कठोर’ कदम, संसद विघठनको तयारी

ओली–दाहालको योजना पूरा नहुने

काठमाडौं,असोज,१७-

एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्काउन हदैसम्मको क्रियाकलाप गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कठोर कदम उठाउने तयारी गर्नु भएको छ ।

एमालेसँग पार्टी एकीकरणको बहानामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोड्ने तयारी गरेपछि देउवाले पनि संसद भङ्ग गर्ने तयारी गरेको बालुवाटारको उच्च स्रोतले जनाएको छ । वर्तमान संसदको आयू कात्तिक ४ गतेसम्म मात्रै छ ।

यो अवधिमा एमाले अध्यक्ष केपी ओलीसँग मिलेर अध्यक्ष दाहालले आफू पुनः प्रधानमन्त्री बन्नका लागि भित्रभित्रै तयारी गरेपछि देउवाले पनि संसद विघठन गरेर वामपन्थीहरूको योजना चकनाचुर बनाइ दिने रणनीति लिएका हुन् ।

एमाले र माओवादी केन्द्रले आफूलाई अफ्ठेरो बनाएमा के गर्ने भनेर प्रधानन्यायाधीश र कांग्रेस निकट कानून व्यवसायीहरूसँग परामर्श गरेको उच्च स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवासँगको परामर्शका क्रममा कानून व्यवसायीहरूले लोकतन्त्र र संविधान विरुद्ध एमाले र माओवादी केन्द्रसहितका दलहरूले कुनै पनि कदम उठाउना साथ संसद विघठन गरेर तोकिएको समयसीमाभित्र दुबै निर्वाचन गराउन सुझाव दिएका छन् ।

अधिवक्ता डा.भीमार्जुन आचार्यले भरख बनेको संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएको प्रतिक्रिया दिए । ‘संविधान कार्यान्वयन गर्न नदिने खेल एमाले र माओवादी केन्द्रले सुरु गरेका छन्’, उनले भने, ‘अहिले सबै निर्वाचनमा होमिने बेलामा यो नौटंकी गरेर संविधान र लोकतन्त्र विरुद्धका कार्य भएको छ ।’

केही दिन अगाडि एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालत र प्रधानन्यायाधीश पराजुलीमाथि प्रश्न उठाउँदै ‘कांग्रेसको मान्छे’ भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री देउवाले आफूलाई अफ्ठ्यारो पर्नेवित्तिकै एमाले र माओवादी केन्द्रलाई ‘साइज’ ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।देउवाको तयारी बुझेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले तत्काल आफूले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भनेर निकटका नेताहरूसँग परामर्श गरेका छन् ।

एमालेसँग ललितपुरस्थित माओवादी केन्द्र निकट मानिने ठेकेदारको निवासमा मंगलबार भएको वार्तामा पनि दाहालले संसद विघठनको कुरा उठाएका थिए । जवाफमा अध्यक्ष ओलीले संसद विघठन भयो भने त्यसको सामना गर्न तयार रहेको बताएका थिए ।

एमाले र माओवादी केन्द्रको मनस्थिति बुझेपछि देउवाले मन्त्रिपरिषदको बैठक बोलाएर संसद विघठनको प्रस्ताव पारित गराउने याजना बनाएका छन् । आफू निकटका नेता र मन्त्रीहरूलाई देउवाले पालैपालो बोलाएर आफ्नो योजना सुनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको नयाँ गठबन्धन बन्नेवित्तिकै देउवाले मन्त्रिपरिषदबाट संसद विघठन गर्ने र देशवासीका नाममा सम्बोधनको तयारी समेत गरेको स्रोतको भनाइ छ । देउवाले पहिला संसद विघठन गरेर मात्रै राष्ट्रपतिलाई भेट्ने योजना बनाएका छन् । त्यसपछि संसद विघठनको मन्त्रिपरिषदको निर्णय अनुमोदन गर्न राष्ट्रपतिमाथि दबाब पर्नेछ ।

बालुवाटार उच्च स्रोतका अनुसार देउवाले संसद विघठन गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने तयारी समेत गरेका छन् । दुई वटै निर्वाचन तोकिएको समयमा गर्नका लागि देउवाले यस्तो योजना बनाएका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाए जस्तै देउवाले यस पटक पनि पराजुलीलाई प्रदेश सभा र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउन प्रधानमन्त्री बनाउने तयारी गरेका हुन् ।

एमाले र माओवादी केन्द्रले यो कुरा पनि राम्रोसँग बुझेको स्रोतको भनाइ छ । यदि यस्तो अवस्था आयो भने त्यसको सबै भागिदार एमाले र माओवादी केन्द्र बन्नु पर्नेछ ।

ओलीले दाहाललाई देउवाविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । तर, यो योजना पूरा हुने अवस्था झिण हुँदै गएको छ । तिहार अगाडि प्रधानमन्त्री बन्ने दाहालको योजना चकनाचुर बन्ने भएको छ ।

साभार पाथभरा न्युजबाट