जीप दुर्घटना : एक विदेशी पर्यटकको मृत्यु, ११ घाइते

लमजुङ, असोज २३-

बेसीशहर–चामे सडक अन्र्तगत मनाङको तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन् ।

आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको थियो ।

ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीका अनुसार घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट लमजुङ ल्याउने तयारी गरिएको छ । जिपमा चालकसहित १२ जना रहेको प्रहरीले जनाएको छ ।

तालबजार जाने बाटोको घुम्तीमा टर्निङ नपुग्दा जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।ईमेजबाट