आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

नेपालका ६० जिल्लामा हुलाक कार्यालय

काठमाडौं,असोज,२३-

आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनी मनाइदैँछ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा र्पुयाउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।

नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । देशभरका हुलाक कार्यालयले आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व हुलाक दिवस मनाउँदै छन् ।

नेपालमा करिब ४ हजार हुलाक सेवा कार्यालय छन् । ६० जिल्लामा कार्यालय छ । इलाका साढे ८सय जति छ । क्षेत्रीय पाँच, अतिरिक्त हुलाक ३ हजार ७४ छ भने २० हजार कर्मचारी कार्यरत छन् ।

नियमित गर्नुपर्ने कामबाहेक अहिले हुलाकले स्थानीय केवल टिभी अनुगमन, लोक कल्याणकारी विज्ञापन सिफारिस तथा लोकसेवाको फारम दर्ता गरी पठाउने काम गर्दै आएको छ ।