जुवाडे समाउन ६ राउन्ड हवाईफायर, जुवाडे र प्रहरीबीच झडप

बारा, कात्तिक,३-

बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

प्रहरीले एक ठाउँका जुवाडेलाई समाउन खोज्दा गाउँका अन्य ठाउँका जुवाडेहरुले प्रहरीलाई गाउँमै घेरेको र बाध्य भएर स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको प्रवक्ता साहको भनाइ छ ।

जुवाडे र प्रहरीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा एक प्रहरीसहित केही स्थानीयवासी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलियाका शंकर चौधरी थारुलाई नियन्त्रणमा लिएको छ भने नगद रु १५ हजार बरामद गरेको छ । रासस