तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा

सिर्जना बर्देवा /
ओखलढुंगा,बैशाख,२८-

कार्यालयको काम छोडेर दिनभरि तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा परेका छन् । अपराह्न १२ बजेदेखी तास खेलेको सुचनाका आधारमा प्रहरीले विभिन्न कार्यालयका सहयोगी स्तरका कर्मचारी र शिक्षकलाई पक्राउ गरेको हो ।

कार्यालयको काम छोडेर सिद्धिचरण नगरपालिका ११ स्थित धर्म खत्रीको होटलमा तास खेलिरहेको अवस्थामा विभिन्न कार्यालयमा कार्यरत ६ जना सहयोगी स्तरका कर्मचारी र एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । तासको खालबाट नगद ९ हजार रुपैंया र तास बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा धर्मबहादुर खत्री, बुद्धिराज दाहाल, रामबहादुर खड्का, ढाकुरप्रसाद दाहाल र धर्मप्रसाद दाहाल रहेका छन् । उनीहरु सबै निजामति सेवाका सहयोगी स्तरका कर्मचारी हुन् । त्यस्तै पक्राउ परेका रविन राजभण्डारी शिक्षक हुन्, भने चोप नारायण खत्री अवकाश प्राप्त सरकारी कर्मचारी हुन् ।

चार जना खेलिरहेका र अन्य हेरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुलाई आगामी दिनमा जुवा तास नखेल्ने शर्तमा काजग गराएर छोडिएको छ । नसिहत दिने गरि उनीहरुलाई छोडिएको र फेरि तास खेलेको पाइएमा कागजका आधारमा मुद्दा चलाइने प्रजिअ पन्तले बएताउनुभयो ।।