राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले थाल्यो आन्तरिक तयारी

काठमाडौं,माघ,१०-नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ।

सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो।

यही माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतिमा छ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाउनुभएको छ।बुधबारको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।राष्ट्रपतिको निर्वाचन माघभित्र गर्न दबाब बढाउने कांग्रेसको तयारी छ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको बहानामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर गरेको थियो।

निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने संकेत गरेको छ।

राष्ट्रपतिको निर्वाचन माघभित्रै गर्न निर्वाचन आयोगको लिखित ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ।साथै राष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थन जुटाउन विश्वासको वातावरण बनाउन कांग्रेसको लागिपरेको छ।चार दलीय मोर्चालाई साथमा राखेर राष्ट्रपतिमा माओवादी र जसपाको साथ लिने कांग्रेस दाउमा छ।

सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा नेकपा (एकीकृत समाजवादी), लोसपा र राष्ट्रिय जनमोर्चा सामेल थिए।

राष्ट्रपति निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको समर्थन पाउने कांग्रेसको विश्वास छ।राष्ट्रपति निर्वाचनमा सम्भावित उम्मेदवारका रुपमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिनु भएको छ।