नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन छलफल

मेरिल्याण्ड,कात्तिक,१३-

नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् ।

उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अर्को पुस्ताका लागि भाषा, संस्कृति र रीतिरिवाजका विषयमा समेत जानकारी दिने खालको प्रकाशन आवश्यक रहेको बताउनुभयो ।

उनले भने, “भावी पिँढीका लागि नेपालकाबारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अब आवश्यक भइसकेको छ ।

पत्रकार नेपालले डायस्पोरामा रहेका नेपालीले आफ्नो ज्ञान, सीपको रुपान्तरण गर्न विशेष ध्यान दिनुपर्ने विचार राख्दै भावी सन्ततिका लागिसमेत नेपालसँगको साइनोकाबारेमा सोच्न आग्रह गर्नुभयो ।

अमेरिकाको राजनीतिमा होमिएका एचवी भण्डारीले नेपालका बारेमा अमेरिकी विश्वविद्यालयमा खोजीनीति गर्दा धेरै विषयमा अन्योल भएको भन्दै अब महत्वपूर्ण दस्तावेज अनुवाद गर्न ढिलो गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा श्याम कार्कीले भाषा र साहित्यको जगेर्ना गर्न अनेसासले गरेका विभिन्न तरिकाको प्रयासका बारेमा जानकारी दिंदै मेरिल्याण्डमा भावी पिंढीका लागि नेपाली भाषा कक्षाको सञ्चालन गरिएको बताउनुभयो ।

एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले नेपाली डायस्पोराले मातृभूमिको सामाजिक, आर्थिक रुपान्तरणका लागि सहयोगी भूमिका खेलेको भन्दै भाषा र संस्कृति जगेर्नामा पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

नेजाका पूर्वअध्यक्ष गौतम दाहालले भाषा र साहित्य पत्रकारिताको अभिन्न पाटो भएकाले प्रवासमा रहेका पत्रकारले नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा भीम कट्टेल, डा उत्तम गौली, डा कृष्ण विष्ट, पत्रकार तरुण पौडेल, मधुकर अधिकारी लगायतले नेपाली भाषाको प्रवद्र्धनबारे आफ्नो धारणा राखेका थिए । रासस