खिजीदेम्बा गाउँपालिकामा प्राविधिक नहुँदा भुकम्प प्रभावीतहरु लिन समस्या

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,६-
ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो ।

भुकम्प प्रभावित परिवार घर निमार्णको काम सम्पन्न गरेपनि तेस्रो किस्ताको अनुदान पाउन सिफारीसका लागि प्राविधिकको प्रतिक्षामा बसेका छन् । हाल सम्म करिब ३० प्रतिशतले मात्र तेस्रो किस्ता लिईसकेका छन् । ६० प्रतिशतले दोस्रो किस्ता लिएको खिजीदेम्बा गाउँपालिकाको कार्यालयले जनाएको छ ।

अनुदान सिफारीसमा पनि विभिन्न प्राविधिक समस्या देखिएको छ । पहिले आएको १७ वटा डिजाइन मध्येको डिजाइनमा पिडितले घर बनाएपनि सामान्य क्रुटिहरु देखिएकोले अनुदान सिफारिसमा प्राविधिकले आनाकानी गर्ने गरेका छन् ।

यस्तै कतिजनाको क्रमागत संख्या नमिलेको तथा नाम विग्रिएका कारणले पनि भुक्तानी लिन समस्या उत्पन्न भएको छ । गाउँपालिका प्रमुख रोक्काले आफुले सहरी विकास तथा भवन निमार्ण डिभिजनमा प्राविधिकको लागि ताकेता गरीरहेको साथै वडा कार्यालयमा रहेको गुणासो व्यवस्थापन समितिले नाम सच्चयाउने काम गर्ने बताउनुभयो ।