राष्ट्रियसभा निर्वाचन : नामावली प्रकाशन र चुनाव चिह्न आज प्रदान गरिने

काठमाडौं,माघ,१५-

निर्वाचन आयोगले आज राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने भएको हो ।

आयोगले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यसभन्दा अघि २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको प्रवक्ता ढकालले बताउनुभयो ।

राष्ट्रिय सभा निर्वाचन माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म बहुमतिय र एकल संक्रमणीय प्रणालीका आधारमा हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । ५९ सदस्य रहने राष्ट्रिय सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । नेपालवाणीबाट