३ मन्त्रालय मागेपछि सत्तारुढ दल र फोरमबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं,फागुन,१७-

एमाले-माओवादी र संघीय समाजवादी फोरमबीच मन्त्रालयमा भागबण्डा नमिल्दा वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास वालुबाररमा भएको वार्तामा फोरमले ३ मन्त्रालय माग गरेकोमा एमाले-माओवादीले २ मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो ।

सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बामगठबन्धन लचिलो हुँदै २ मन्त्रालय दिन तयार भएको थियो । पटक पटक वार्ता भएपनि मन्त्रालय भागवण्डामा वामगठबन्धन र फोरमबीच कुरा मिल्न सकेको छैन । संविधान संशोधनमा तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहनु भएको थियो ।