चैतदेखि २० वर्ष पुराना गाडी हटाइने

काठमाडौं,फागुन,३०-

सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो ।

गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना गाडी हटाइने जनाएको छ ।

पहिलो चरणमा गाडी धनीलाई चेसिज, इन्जिन बुझाएर पुराना गाडी ‘पत्रु’ गर्न अनुरोध गरिसकिएको विभागका निर्देशक तुलसीराम पौडेलले बताए । ‘तर, अहिलेसम्म कसैले बुझाएका छैनन्,’ उनले भने, ‘चैत १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौं ।’ आजको कान्तिपुरमा खबर छ ।