डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

सरकार र डा. केसीको वार्ता असफल

काठमाडौं, साउन,९-

आमरण अनशनमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ ।२६ दिनदेखि आमरण अनशनमा रहनु भएका डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् ।

उहाँको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।शरीरमा ग्लुकोजको मात्रा कम भएका कारण त्यसको प्रत्यक्ष असर मष्तिस्कमा हुने डा. भुसालले बताउनुभयो ।

डा. केसीलाई मंगलबारदेखि बान्ता हुन थालेको र स्मरण शक्ति कम हुँदै गएको डा. भुसालले जानकारी दिनुभयो ।कुनै किसिमको स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका डा. केसीलाई आवासीय चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

त्रिवि शिक्षण अस्पताललेसमेत डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो नदेखाएको भन्दै आवासीय चिकित्सकहरुले आज स्वास्थ्य परीक्षण गर्नु भएको हो ।स्वास्थ्य अवस्था नाजुक बन्दासमेत कुनै निचोडमा पुग्न नसकेका कारण बिहीबारदेखि थप आन्दोलनका कार्यक्रम सन्चालन गर्नेसमेत चिकित्सकहरुले जनाएका छन् ।

यसैबिच : सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको भन्दै डा. केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकारले भने राजनीति भएका कारण डा. केसीसँगको वार्ता असफल भएको जनाएको छ । सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । 

तर, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।