तीन वर्षका लागि दुई बालबालिकालाई छात्रबृति प्रदान

नेपालगञ्ज,कर्तिक,२१- 
आर्थिक अवस्थाले कमजोर नेपालगञ्जका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरिएको छ ।नेपालगञ्जका निर्माण व्यवसायी टेकबहादुर खड्काले आर्थिक अवस्थाले पढनमा समस्या भएका दुई बालबालिकालाई तीन वर्ष छात्रबृति प्रदान गर्नुभएको हो ।

बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१२ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज–१० गोसाई गाउँ बस्ने अभय मिश्रा र नेपालगञ्ज–१२ बस्ने सम्रिन पठानलाई तीन÷तीन वर्ष छात्रबृति प्रदान गरिएको हो ।

निर्माण व्यवसाय सेवा संघ बाँकेका अध्यक्ष समेत रहनुभएका खड्काले दुबै बालबालिकालाई तीन वर्षका लागि ३०÷३० हजार सहयोग गर्ने जिम्मा लिनुभएको छ । पहिलो वर्षका लागि उहाँले दुबैलाई नगद दश÷दश हजार बिहीबार कार्यक्रमस्थलमै प्रदान गर्नुभएको छ ।

पढ्नबाट बञ्चित तथा आर्थिक रुपले बिपन्न बालबालिकालाई सहयोग गर्नु नै मानव धर्म भएको कुरालाई महसुस गर्दै दुई जना बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालगञ्ज वडा नं.–१०, १२ र समाजिक बिकास मंचको समन्वयमा बालबालिकालाई पहिचान गरी छात्रबृति प्रदान गरिएको मंचका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा नं.–१२ का अध्यक्ष बुद्धिसागर सुबेदीले मानव धर्मका लागि खड्कालाई धन्यवाद व्यक्त गर्दै सबैले यसरी नै समस्यामा परेकालाई सहयोग गरे छिट्टै समाज परिवर्तन हुने बताउनुभयो । वडा नं.–१० का अध्यक्ष बिन्दु भुषण बस्नेतले बिगतमा पनि खड्काको मनकारी भावनालाई आत्मसात गर्दै अहिलेको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले समाज निर्माण गर्नका लागि असल नागरिकको खाँचो रहेको बताउनुभयो । वडा नं.–१२ का वडा सदस्य तरुण कुमार बज्रचार्यले हाम्रो सानो प्रयासले कसैको जीवनलाई सहजता मिल्छ भने सबैले सहयोगको भावना देखाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सेफ द चिल्ड्रेनकी धन कुमारी भुषाल, रत्नराज ओझा, फुलकुमारी चौधरी, मंचका अध्यक्ष श्याम थापामगर, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, समाजसेवी हरिबाबु घिमिरे, आमा समूहकी लक्ष्मी खड्का, बालक अजय मिश्राकी हजुरआमा सुनिता मिश्रा, सम्रिनकी आमा सकुन पठान लगायतको रोहवरमा सो छात्रबृति प्रदान गरिएको छ ।

१२ वर्ष अगाडी आगो लागेर आमाको मृत्यु र बुबाको ५ वर्ष अगाडी रक्सी सेवनले मृत्यु भएपछि अहिले अजय गोसाई गाउँमा हजुर बा–आमाको संरक्षणमा बस्दै आएका छन् । अजय नरायण माबि नेपालगञ्ज ८ कक्षामा अध्ययनरत छन् । त्यस्तै सम्रिन सरस्वती माबि १० कक्षामा अध्ययनरत छिन् ।

आर्थिक अवस्थाले गर्दा ९ कक्षा पढ्दै गर्दा बिचमै छाडेर घरमा बसेकी सम्रिनलाई मंचद्धारा संचालित युवा शशक्तिकरण (बुलगार) परियोजना तथा वडा कार्यालयको समन्वयमा पुन : ९ कक्षामा भर्ना गरिएको थियो ।

कोरियनपुरमा बस्दै आएकी सम्रिनको आठ जनाको परिवारमा बुबाको एक्लो कमाईले जीवन निर्वाह भइरहेको छ ।बालबालिकालाई छात्रबृति प्रदान गर्ने निर्माण व्यवसायी खड्कालाई सामाजिक कार्यबापत प्रमाणपत्र तथा दोसल्लाले सम्मान समेत मंचले प्रदान गरेको छ ।