साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको शानदार जित

नेपाल ४ भुटान ०

काठमाडौं,भदौ,२१-

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले आज (बिहीबार) भएको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित निकालेको हो ।  

बंगबन्धु रंगशालामा खेलको २१ औं मिनेटमा नै  अनन्त तामाङले गोल गरेका थिए ।तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । 

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।खेलमा सुनील बलले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरेका थिए ।अनलाईखबरबाट