६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता

 काठमाडौं, चैत १२ –

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ६४ जिल्लामा मतदान केन्द्र तोक्दै झन्डै २० जिल्लाका लागि मतपत्रसमेत छपाइसकेको छ ।७५ जिल्लामा मतदान केन्द्र तोकिएसँगै अन्तिम मतदाता नामावली पनि टुंगो लगाउने तयारी आयोगले गरेको छ ।

आगामी वैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख मतदाताले ३६ हजार ६ सय ३९ जनप्रतिनिधि चयन गर्दैछन् । त्यसका लागि निर्वाचन आयोगले करिब २१ हजार मतदान केन्द्र तय गर्नेछ ।

निर्वाचन आयोगले निर्वाचन केन्द्र तोक्ने कामलाई तीव्रता दिइरहेको छ । अहिलेसम्म ६४ जिल्लामा मतदान केन्द्र तोकिएका छन् ।बाँकी जिल्लामा राजनीतिक दलको परामर्शमा जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीकोसमेत परामर्शमा मतदान केन्द्र तोक्ने प्रयास गरिरहेको छ । २ नम्बर प्रदेशमा भने अधिकांश स्थानमा मतदान केन्द्र तोक्न बाँकी छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले २० जिल्लाको मतपत्र छाप्ने कामसँगै ६४ जिल्लामा मतदान केन्द्र निर्धारण गरिसकिएको बताउनुभयो ।स्थानीय तहमा सातओटा पदका लागि हुने निर्वाचनमा आयोगले सहभागिता बढाउन अहिले तालिमहरुसमेत सन्चालन गरिरहेको छ ।

नगरपालिका प्रमुख वा उपप्रमुख, गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमध्ये एक अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।त्यस्तै, वडा सदस्यमा उठ्ने दुई महिलामध्ये एक दलित महिला हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगले अहिले यही व्यवस्थाकाबारेमा राजनीतिक दलहरलाई जानकारी गराइरहेको छ ।

आयोगले निर्वाचनलाई व्यवस्थित गर्न अहिले संसदमा रहेका सबै राजनीतिक दललाई दलको चिह्न दिएरै निर्वाचनमा सहभागिता जनाउन दिनेछ भने बाँकीको हकमा स्वतन्त्र चिह्न प्रदान गर्ने भएको छ ।साभार ईमेजखबरबाट