डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार

नोबेलमा उपचार हुँदै (भिडियो रिपोर्टसहित)

विराटनगर,भदौ,२५-

बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन ।

सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा उनले ओठ कमाउँदै भने ‘अव त बाच्छु जस्तो छ ।’बिरामी भई थलिएर सुतेको ठाउँमै दिसा, पिसाव भएको अवस्थामा कानेपोखरी स्थित चिस्याङ खोलाको पुल नजिक भेटिएका उनलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्माले उद्धार गरेका हुन् ।

गम्भीर अवस्थामा रहेका उनलाई आवश्यक सवै कुराको बन्दोबस्ती मिलाएर डा.शर्माले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् ।​वेवारिसे अवस्थामा भेटिएका बृद्ध सिकिस्त बिरामी भएर उठ्नै नसक्ने अवस्थामा पुगेको थाहा पाएपछि उनको उद्धारका लागि डा.शर्मा कानेपोखरी पुगेका थिए ।

धेरै बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाईसकेका डा.शर्मालाई स्थानीयले बृद्धको अवस्थाका वारेमा बताउँने बित्तिकै उनी तत्काल सो स्थानमा पुगेर बृद्धको उद्धार गरेका हुन् । बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धका आफन्तको अत्तोपत्तो छैन । उनी कष्टपूर्ण तरिकाले बोल्छन । तर, बोलेको राम्रोसँग बुझिदैन ।

( भिडीयो पनी हेर्नुहोस् )

उनले आफ्नो नाम कृष्णबहादुर राई र घर सुनसरी भएको संकेत गरेका छन् । उनी कसरी त्यो ठाउँमा पुगे भन्ने स्थानीयबासीलाई पनि थाहा छैन । ‘बा एकहप्ता अघि यहाँ आएका हुन् ।’ स्थानीय नामा मगरले भनिन् ‘कसले ल्याईदियो कि कसरी आए थाहै छैन ।

उनी एक हप्ता अघिदेखि खानासमेत नखाई प्रयोगबिहिन अवस्थामा रहेको बाँसको टहरोको भुईमा सुतेका थिए । बृद्ध अवस्था र त्यसमाथि सिकिस्त बिरामी परेकाले उनी उठ्नसमेत नसरी एकै ठाउँमा सुतिरहे । उठ्न नसक्दा दिसा, पिसाव पनि सुतेकै ठाउँमा भएर उनलाई झिगाले घेरेको थियो । हाड र छालामात्र भएको जस्तो अत्यन्तै दुब्लो देखिने उनी अहिले नोेबेल अस्पतालमा उपचाररत छन् ।

उनको छातिमा समस्या देखिएकाले सोहि बमोजिम उपचार भईरहेको उपचारमा संलग्न बरिष्ट छाति तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरी घिमिरेले बताए । उनका अनुसार उपचारका क्रममा बृद्धको स्वास्थ्यमा सुधार देखिएको छ । बृद्धलाई उपचार र हेरचारका लागि डा.शर्माले सम्पूर्ण बन्दोबस्ती मिलाईदिएका हुन् ।

उनको उपचारसँगै हेरचारका लागि कर्मचारी खटाईएको छ । बृद्धलाई नुहाईदिएर कपडा फेरिएको छ । खानपिन र औषधिको ब्यवस्था पनि डा.शर्माले नै मिलाईदिएका छन् । बृद्धको स्वास्थ्यमा सुधार भएपछि आफन्त पत्ता लगाएर उनलाई परिवारमा बुझाउँने डा.शर्माले बताए । ‘उहाँलाई ठिक नहुँनलेज उपचार गर्छौ ।’ उनले भने ‘निको भएपछि आफन्त पत्ता लगाएर बुझाउँछौ ।’