परिवार नियोजन दिवसः साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा

काठमाडौ,असोज,२-

‘किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

परिवार कल्याण महाशाखाले आज काठमाडौंमा गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्तिले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानकारी दिइएको छ ।

तीमध्ये ४१ प्रतिशतले आधुनिक परिवार नियोजकको साधन प्रयोग गर्ने र १० प्रतिशतले प्राकृतिक साधन प्रयोग गर्ने गरेको जानकारी दिइयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्नेमा सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

लक्ष्यअनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले अब परिवार स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी तथा निजी संघसंस्थाले एकै ठाउँमा बसेर छलफल गरी प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा परिवार कल्याण महाशाखा प्रमुख डा.आरपी बिच्छाले सिमान्तकृत र पिछडिएका समूहले परिवार नियोजनसम्बन्धी जानकारी पाउन नसकेको बताउनुभयो ।

उहाँले जनसंख्या व्यवस्थापनमा परिवार नियोजकको निकै महत्व रहेको भन्दै सोचेअनुसारको प्रतिफल भने प्राप्त गर्ने नसकेको जानकारी दिनुभयो ।

कार्यक्रमका सहभागीहरुले परिवार नियोजनका साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा परेको र असुरक्षित गर्भ रहने र त्यसले किशोरीको स्वास्थ्यमा पार्ने असरबारे समेत जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।ईमेजखबरबाट