प्रलोभन दिएर बलात्कार गरेको भन्दै पत्रकार दिक्षितमाथी उजुरी

नेपालगन्ज,असोज,६-
आफुलाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै पत्रकार बिनय दिक्षितमाथी एक किशोरीले किटानी जाहेरी दर्ता गराएकी छन् । देशभर बलात्कारका घटना सार्वजनिक भईरहेका बेला बाँकेमा पनि सार्वजनिक भएको हो । पीडित किशोरीले ४ दिनअघि मात्र किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले बिनय दिक्षितमाथी पीडितले कार्यालयमा किटानी जाहेरी दर्ता गराईसकेको पुष्टी गरेका छन् । ‘प्रलोभनमा पारेर म माथी बिनय दिक्षित भन्ने ब्यक्तिले बलात्कार गर्यो भनेर एक जना महिलाले उजुरी दर्ता गरेकी छन्,’ पौडेलले भने, ‘बलात्कारको उजुरी परिसकेपछि आरोपीलाई खोज्ने काम भईरहेको छ ।

जस्तो सुकै ब्यक्ति भएपनि मुद्दा परेपछि अनुसन्धानको दायरामा आउने उनले बताए । ‘कानुन सबैका लागि समान हुन्छ, कानुनले ठुलो र सानो भनेर कसैलाई पनि चिन्दैन,’ एसपी पौडेलले भने । नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा स्थायी घर भई नेपालगन्जमा बस्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा ईन्चार्ज एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टले अभियुक्त दिक्षितलाई केहीदिन देखी खोजी भईरहेपनि उनी पक्राउ नपरेको बताए ।

‘बलात्कार जस्तो संवेदनशिल मुद्दामा किटानी जाहेरी परिसकेपछि पक्राउ नगरी हामीलाई सुख छैन,’ बिष्टले भने ‘तर अहिलेसम्म पक्राउ परेका छैनन् ।’ दैनिक नेपालगन्जमा कार्यरत दिक्षितमाथी बलात्कारको आरोपमा किटानी जाहेरी दर्ता भएको उनले प्रष्ट्याए । किटानी जाहेरी दिदाँसमेत पक्राउ नगरेको भन्दै पीडित किशोरी दिनहुँजसो जिप्रका आउने गरेको प्रहरी स्रोतले जनाएको छ ।

‘पीडित किशोरी पनि बेला–बेलामा आएर मैले न्याय पाउँछु कि पाउँदैन भनेर सोधपुछ गरिरहन्छिन्,’ एक प्रहरीले भने ‘हामीले पक्राउ पर्छन्, नआत्तिनुस भनेर सम्झाउने गरेका छौं ।’
कञ्चनपुरमा भएको बलात्कारको घटनामा प्रहरीले प्रमाण नष्ट गरेको स्मरण गराउँदै पीडित किशोरीले आफुलाई न्याय दिन प्रहरीलाई दवाव दिईरहेको बताइएको छ ।

मुद्दा शाखाका अनुसार कपिलबस्तु स्थायी घर भएकी अन्दाजी २५÷२६ वर्षकी किशोरी विगत १०÷१२ वर्षदेखी बाँकेमा बस्दै आएकी छन् । उनी गैर सरकारी संस्थामा काम गर्छिन् । पीडित किशोरीलाई दिक्षितले बिबाह गर्ने प्रलोभन देखाएर विगत डेढ वर्षदेखी बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।

किशोरीले दर्ता गरेको जाहेरीमा आफुमाथी दिक्षितले विगत डेढ वर्षदेखी विभिन्न प्रलोभन दिएर बलात्कार गर्दै आएको र बाध्य भएर अहिले न्यायका लागि प्रहरी कहाँ पुगेको उल्लेख गरेकी छन् । ‘आरोपी दिक्षितले आफुमाथी अन्तिम पटक भदौं २ गतेतिर शारिरीक सम्पर्क राखेको पीडित किशोरीले बयान दिएकी छन्,’ मुद्दा शाखा स्रोतले भन्यो ‘सधैं बिबाह गर्ने प्रलोभन मात्रै देखाउने, यौन सन्तुष्टी लिने, तर बिबाह नगरेपछि बाध्य भएर उजुरी गरेको उनले बताईरहेकी छन् ।

’ किटानी जाहेरीमा पीडितले हदैसम्मको कानुनी कारबाहीको माग गरेकी छन् । प्रहरी स्रोतका अनुसार पीडित किशोरीले आफु अब न्यायका लागि प्रहरी कहाँ जाने बताएपछि करिव डेढ महिनादेखी दिक्षितले उनलाई मिलाउने निकै प्रयास गरेका थिए । उनले किशोरीलाई पैसा दिएर भएपनि मुद्दा मिलाउने प्रयास गरे, तर किशोरीले त्यो कुरा स्वीकार गरिनन् । अन्ततः प्रहरी कहाँ पुगेर निवेदन दर्ता गरेको बताइएको छ ।

बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि प्रहरीले केहीदिन देखी खोजी गरिरहँदा दिक्षितले शुक्रबार प्रहरी कार्यालयमा आफै हाजिर हुने बताएका थिए । ‘तपाईको बिरुद्ध किटानी जाहेरी छ, आफै आउनुहुन्छ भने तपाईलाई राम्रो होला, नत्र हामी आफै पक्राउ गर्छौ भनेर फोनमा हामीले भनेका थियौं,’ मुद्दा शाखा ईन्चार्ज विष्टले भने ‘फोनमा आउँछु भन्नु भयो, तर आउनु भएन, नआएपछि फेरी खोजी कार्य सुरु गरिएको छ ।