बाँके जिल्ला प्रशासन कार्यालयमा यादवका परिवारजन र कार्यकर्ताद्धारा धर्ना र अनशन

नेपालगन्ज,असोज,१४-

प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका राममनोहर यादवका परिवार र आफन्तजनले आज जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना र अनसन बसेका छन् । पीडित परिवार र संघर्ष समिति, बाँकेको अगुवाईमा प्रशासन कार्यालयको मूलद्धार बाहिर धर्ना र अनशन बसेका छन् ।

अनशन र धर्नामा बसेकाले ५ बुँदे माग राखेका छन् । स्वतन्त्र न्यायीक छानवीन समिति गठन, शहिद घोषणा, क्षतिपूर्तिको व्यवस्था, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी र मन्त्री, जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुनुपर्ने माग राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा रहेका राममनोहर यादवको उपचारका क्रममा गत भदौ १५ गते मृत्यु भएको थियो । प्रहरीले भदौ ७ गते जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ गरेर राज्य विप्लवको मुद्दा लगाई हिरासतमा राखेको थियो ।

यादव सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धका गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाई छ ।