राप्तीसोनारीमा सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु

‘सहज रुपमा भत्ता वितरण गरिन्छ’: अध्यक्ष थारु

बाँके(अगैयाँ),असोज,१९-
राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्बन्धित वडा कार्यालयका लागि शुक्रबार चेक तयार गरिसकेको अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।

‘सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्ने प्रक्रिया सुरु गरिसकेका छौं, अबको केहीदिन भित्रै सम्बन्धित ब्यक्तिको हातमा रकम पुग्नेछ,’ अध्यक्ष थारुले भन्नुभयो ‘वडा कार्यालयमार्फत सहज रुपमा भत्ता वितरण गरिनेछ ।’ भत्ताका लागि जनताले अनावश्यक रुपमा दुःख नपाउने उहाँले बताउनु भयो ।

गाउँपालिकाले पहिलो चौमासिकमा वडा नम्बर १ देखी ९ सम्मका लागि कुल २ करोड २७ लाख ४९ हजार ६ सय रूपैयाँ वितरण गर्ने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत(उपसचिव) टोपेन्द्र केसीले बताउनु भयो। ‘वडा कार्यालयले पायक पर्ने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछन्,’ केसीले भन्नुभयो ‘दसै अगाडीसम्म सबै रकम वितरणको काम सम्पन्न भईसक्छ ।’

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ नागरिक, जेष्ठ नागरिक(दलित), एकल महिला, लोपउन्मुख आदीवासी जनजाती, पुर्ण अपांगता भत्ता, अति अशक्त अपांगता भत्ता, बालबालिका सुरक्षा भत्ता(दलित), जेष्ठ नागरिक औषधी उपभार भत्ता लगायत ९ वटा शिर्षकमा वितरण गर्दै आएको छ ।

चालु वर्षको पहिलो चौमासिकका लागि गाउँपालिकाबाट चेक तयार भईसकेको र वडा सचिवले बुझेर सम्बन्धित ठाउँमा लगेर वितरण गर्ने लेखा अधिकृत प्रकाश केसीले जानकारी दिनुभयो । ‘वडा सचिवको नाममा पेश्की रकम जान्छ, त्यसपछि वितरण गरिन्छ, यो प्रक्रिया दसै अगाडीसम्म सम्पन्न भईसक्छ,’ उहाँले भन्नु भयो।

गाउँपालिकाका लेखापाल दीपक कार्कीका अनुसार वडा नम्बर १ का लागि २६ लाख ५५ हजार ६ सय, वडा नम्बर २ मा ३७ लाख ६९ हजार ८ सय, वडा नम्बर ३ मा १८ लाख ६४ हजार, वडा नम्बर ४ मा २२ लाख ६३ हजार ८ सय रूपैयाँ निकासा भएको छ ।

यस्र्तै गाउँपालिकाको वडा नम्बर ५ मा २६ लाख ६७ हजार ६ सय, वडा नम्बर ६ मा २५ लाख ८९ हजार ८ सय, वडा नम्बर ७ मा ३४ लाख ६१ हजार ८ सय, वडा नम्बर ८ मा १८ लाख ७५ हजार ६ सय र वडा नम्बर ९ मा १६ लाख १ हजार ६ सय रूपैयाँ निकासा भएको उहाँले जानकारी दिनुभयो।

स्थानीय तह पुर्नसंरचना भएपछि राप्तीसोनारीले आर्थिक वर्ष २०७३/७४ को दोस्रो र तेस्रो तथा आर्थिक वर्ष २०७४/७५ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको जनाइएको छ ।