सम्भावित सीप बारे नेपालगञ्जमा युवाहरुसंग छलफल

नेपालगञ्ज,मंसिर,२८-

युवाहरुको सीप, दक्षता अभिबृद्धिका लागि के–कस्ता तालिमहरु संचालन गर्न सकिने बिषयमा शुक्रबार नेपालगञ्जमा छलफल गरिएको छ । वर्ष २०१९ मा युवाहरुका लागि संचालन गर्न सकिने सम्भावित कार्यक्रमहरुका बारेमा शुक्रबार नेपालगञ्जमा युवाहरुसंग छलफल गरिएको हो ।

सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले २०१९ युवाहरुलाई कस्तो प्रकारको सीप दक्षता आवश्यकता महसुस भएको शन्दर्भमा उक्त छलफल आयोजना गरिएको मंचका जीविकोपार्जन अधिकृत भूपाल बोहराले जानकारी दिनुभयो । युवा क्लब तथा युवाहरुको उपस्थितिमा गरिएको छलफलमा सीप अभिबृद्धिका लागि संस्थाले गर्दै आएको कार्यको सराहना गर्दै धेरैभन्दा धेरै युवाहरुलाई सहभागि बनाउनुपर्नेमा जोड दिएका छन् ।

छलफलमा उनीहरुले हेयर कटिङ्ग, टेलरिङ्ग, व्यूटिसियन र इलोक्ट्रोनिक्स व्यवसाय संचालनबारे ज्ञान सीप प्रदान गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा नेपालगञ्जका युवा व्यवसायी सोम डेमनड्यौराले व्यवसाय गर्दा आइपर्ने कठिनाई तथा त्यसका आधारभूत कुराहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

मंचले सन २०१६ देखि हालसम्म बाँकेका ८६ जना युवालाई तीन महिने सीप (भोकेशनल) तालिम प्रदान गरेको छ भने ८३ जनालाई पाँच दिने लघु उद्यम बिकास सीप प्रदान गरेको छ । भोकेशनल तालिममा सहभागि भएकामध्ये ५९ जनाले व्यवसाय गर्दै आएको देखिएको छ भने ८३ जनामध्ये ५० बढि बिभिन्न काममा सक्रिय भएको पाइएको जीविकोपार्जन अधिकृत बोहराले बताउनुभयो ।

उहाँका अनुसार सन २०१९ मा ४० जना युवाहरुलाई सीप प्रदान गर्ने र ती मध्ये २२ जनालाई तीन महिने (भोकेशनल) तालिम तथा १८ जनालाई पाँच दिने लघु उद्यम बिकास तालिम प्रदान गर्ने योजना रहेको छ भने त्यसका लागि वडा अध्यक्षहरुसंग समन्वय सहकार्य गरेर मात्र उक्त तालिमहरु संचालन गरिने जनाइएको छ ।