पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्ने

एजेन्सी,भाद्र,३-पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३-० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।

 

पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे ।

खेलको १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्हाेसले हेडमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डी मारियाले पीएसजीलाई २-० ले अघि बढाएका थिए । डिबक्सभित्र नेयमारले मिलाएको पासमा डी मारियाले पोस्टको दिशा दिएका थिए ।

५६ औं मिनेटमा उनै डी मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

..

नेयमार र एम्बापे जर्मन क्लबको कडा निगरानीमा पर्दा मारियाले त्यसको फाईदा उठाएका थिए । दुवैको उत्कृष्ट प्रर्दशनमा पीएसजीले क्वार्टरफाईनलको खेलमा एटलान्टाबिरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनलमा स्थान सुरक्षित गरेको हो। फ्रान्सेली क्लबलकाे उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ ।