नेपालगन्जबाट दाङ जाँदै गरेको बस लमहिमा दुर्घटना : २५ घाईते

दुईको अवस्था गम्भिर

नेपालगन्ज,माघ,१५-

नेपालगन्जबाट घोराहीतर्फ जादैँ गरेका बस र ट्रक पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा सवारी दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्जबाट घोराहीतर्फ जादैँ गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक लमही नगरपालिका वडा नम्बर ९ रिहारमा एकआपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय सन्तोष विक र ट्रक चालक बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय रामसिंह पन्त गम्भिर घाइते भएको रिहार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर नेपालीले जानकारी दिए ।

अन्य सबै बसमा सवार यात्रु र एकजना ट्रकका सहचालक घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज, कोहलपुर र लमही अस्पतालमा उपचार भइरहेको छ ।