आजबाट खजुरा महोत्सव : प्रदेश न ५ का उद्योग मन्त्री लिला गिरीले उद्घाटन गर्ने

नेपालगन्ज,माघ,२४-

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ महोत्सव आज बाट सुरु हुँदैछ।महोत्सवको तयारी पुरा भएको आयोजकले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बिहीवार आज २४ गतेदेखि सूरु हुने महोत्सव फागुन ५ गतेसम्म संचालन हुने छ ।

महोत्सवको उद्घाटन प्रदेश नं। ५ का उद्योग मन्त्री लिला गिरीले गर्ने केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर भण्डारीले बताए । उद्घाटन अघि खजुरा बजारमा विभिन्न झाकि सहित र्‍याली निकालीने भएको छ ।

महोत्सवमा करिव १७० स्टल रहने आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष समर बहादुर खत्रीले जानकारी दिए । महोत्सवको तयारी ९५ प्रतिशत सम्पन्न भैसकेको उनले बताऐ । महोत्सवमा प्रवेशका लागि साधारणतर्फ ६० रुपैया र बृद्धबृद्धाहरु र विद्यार्थीका लागि ४० रुपैया राखेको संयोजक खत्रीले बताए ।

महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रमलाई बढि जोड दिईने आयोजक समितिले जनाएको छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । साथै महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता रहेको प्रचारप्रसार उपसमितिका सदस्य खगेन्द्र दाहालले बताए।

महोत्सवमा हरेक दिन फरक फरक कलाकारहरु आउने महोत्सवका कला उप समितिका संयोजक तिलक गाउँलले जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकार नायक अनमोल केसी, भुवन केसी, नायिका निरुता सिंह, गायिका तृप्ती खड्का, टिका पुन, ज्योती मगर, कमल खत्री, अशोक दर्जी, आरुसी मगर, प्रिती आले, मधु क्षेत्री, टंक बुढाथोकी, रामजि खाँड, पशुपति शर्मा, एआर बुढाथोकी लगायत स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ।