नेपालमा लकडाउनको ५५ औं दिन : निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने

काठमाण्डौ,जेठ,४-नेपालमा लगाईएको लकडाउनको आईतबार ५५ औं दिन पुरा भएको छ।कोरोना भाईरसको रोकथामका लागि सरकारले पटक पटक म्याद थपिरहेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिदै छ ।

लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । नेपालमा दिनप्रतीदिन कोरोना संक्रमण बढ्ने क्रम जारी रहेकोले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ ।

सिंहदरबारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गर्नेछ । जनस्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल समेतका आधारमा सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ । समितिको सिफारिसमाथि मन्त्रीपरिषदमा थप छलफल गरी निर्णय गरिने सरकारले जनाएको छ ।

समितिमा कोरोनाको प्रभाव कम देखिएका क्षेत्रमा लकडाउन खुकुलो र प्रभाव धेरै देखिएको ठाउँमा अझ कडा बनाउने विकल्पमा छलफल भएपनि कोरोनाबाट ज्यानै गएको तथा सङ्क्रमित पनि बढिरहेकाले लकडाउन लम्बिने सम्भावना छ ।

शनीबार मात्र नेपालमा पहिलो पटक एक जनाको कोरोना बाट निधन भएको थियो, भने यता बाॅंकेको नरैनापुरस्थीत क्वारेन्टाईनमा बसेका एक व्यक्तीको मृत्यु भएको छ । के कारणले मृत्यु भएको हो भन्ने बारे रिपोर्ट आएपछि थाहा हुनेछ । यस्तै आईतबार बिहानै स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारि गर्दै १० जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो । हाल सम्म नेपालमा २९१ जना संक्रमित छन्,भने ३६ जना निको भएर घर फर्केका छन् ।